काठमाडौँ, १८ असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताउनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले जनताका जिज्ञासा र प्रश्नको छलफलका लागि मुलुकलाई खुलामञ्च आवश्यक रहेको बताउनुभएको हो ।
“दश वर्षपछि खुलामञ्च खुलेको छ, यो काठमाडौँको एउटा चौर मात्रै होइन, नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन्”, सभापति थापाले भन्नुभयो ।
सभापति थापाले जननायक बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालेसमेत यही खुलामञ्चबाट ऐतिहासिक राजनीतिक घटनासम्बन्धी भाषण गरेको स्मरण गर्दै खुलामञ्चले फरक विचार तथा मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको उल्लेख गर्नुभयो ।